काठमाडौं : चीन सरकारसँग नेपाल सरकारले खरिद गरेको ४० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप मध्येको १० लाख मात्रा आज नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ ।

बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५ मिनेटमा ‘भेरोसेल’ खोप लिएर फर्कने कार्यतालिका रहेको छ ।
कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको हो । सोही सम्झौताअनुसार पहिलो चरणमा १० लाख डोज खोप ल्याइँदै छ ।
